Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चुनावी अभियानमा होमिए पोखरेल



विराटनगर : नेकपा एमालेका ऋषिकेश पोखरेल आगामी मंसिरमा हुने निर्वाचनका लागि तिव्र तयारीका जुटेका छन् । एमालेको मोरङ जिल्ला अध्यक्षसमेत रहेका पोखरेलले मतदाता भेट्ने र उनीहरुको जिज्ञासा सुन्ने कामलाई अघि बढाएका छन् ।

संविधान सभा सदस्यसमेत रहेका पोखरेलको मोरङ २ बाट एकल नाम सिफारिस भएको छ । केहीदिन यता उनी निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा छन् ।

मोरङ २ तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले लगातार तीनपटक चुनाव जितेको क्षेत्र हो । उनले यही क्षेत्रबाट २०४८, २०५२ र २०५६ सालमा लगातार चुनाव जितेका थिए । कोइराला पछि सुनसरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट पनि चुनाव जित्न थालेपछि मोरङमा ०५२ र ०५६ मा भएको उप–निर्वाचनमा कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायले चुनाव लडे र जिते । उपाध्यायले गिरिजाको बिँडो थाम्दै गए ।

२०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद प्रसाद उपाध्यायलाई पराजित गर्दै पोखरेलले संविधानसभासम्मको यात्रा तय गरेका थिए । कांग्रेस र कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ मा २०७० को संविधान सभाको चुनावमा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले कांग्रेसका उपाध्यायलाई पराजित गरेसँगै कांग्रेसको गढ भत्काए । पोखरेल यस क्षेत्रमा स्थापित नेताका रुपमा चिनिन्छन् ।

संविधान सभा सदस्य भएको बेला पोखरेल आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि निरन्तर लागे । तर, पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका नेता मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

विकासप्रेमी र इमान्दार नेताको छवी बनाएका पोखरेल चुनावी अभियानका क्रममा बिहिबार रतुवामाई १० स्थित जननेता मदन भण्डारीको घर पुगे । त्यहाँ रतुवामाई १० को वडा भेला आयोजना गरिएको थियो । मदन भण्डारीले मार्गनिर्देश गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ लाई आधार बनाएर एमाले अघि बढिरहेको बेला आफूहरुले भण्डारीलाई कहिल्यै बिर्सन नसक्ने पोखरेलले बताए । भण्डारीकै विचार समाएर पार्टी अघि बढिरहेको बेला पोखरेल त्यहाँ पुग्दा स्थानीय उत्साहित भएका थिए ।

पोखरेल पछिल्लो समय आफ्नो क्षेत्रमा संगठन विस्तार लगायतका काममा अग्रसर छन् । पोखरेल पछिल्लो समय दिनुहँ पार्टीका कार्यकर्ता र मतदाताको गुनासो सुन्दै छन् ।

पोखरेल चुनावी अभियानमा लागिसक्दा उनको प्रतिस्पर्धि भने टुंगो लागेको छैन् । कांग्रेसले यस क्षेत्रबाट मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ । यी दुवै अहिलेसम्म टिकटको लडाइमा छन् । कसले टिकट पाउने भन्ने कुराको अन्योलता छ । रिजाल शेखर कोइराला समूह र कोइराला देउवा समूहमा छन् । देउवा समूहमा भएका कारण कोइरालाले नै टिकट पाउने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ । टिकटमा दुविधा हुँदा उनीहरु राजधानीमै अड्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार