Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा ४९ हजार नयाँ मतदाता थपिए



विराटनगर : प्रदेश १ मा ४९ हजार नयाँ मतदाता थपिएका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि प्रदेशमा ४९ हजार ४ सय ८१ जना नयाँ मतदाता थप भएका हुन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशमा ३३ लाख ९६ हजार ८ सय ६५ जना मतदाता कायम भएका छन् ।

प्रदेशका कूल मतदातामध्ये १७ लाख २९ हजार ७ सय ७२ जना पुरूष र १६ लाख ६७ हजार ७१ जना महिला मतदाता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ मा प्रतिनिधिसभाका लागि २८ र प्रदेशसभाका लागि ५६ निर्वाचन क्षेत्र रहेको छ । प्रदेशभर १ हजार ८ सय ९७ मतदानस्थल र ४ हजार ९९ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताए ।

त्यस्तै यो अवधिमा प्रदेशमा २२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाताको नाम संकलन भएको छ ।

झापामा आठ जना, मोरङमा ६ जना, इलाम, सुनसरी र उदयपुरमा दुई/दुई जना, भोजपुर र ओखलढुङ्गामा एक/एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कुन जिल्लामा कति मतदाता
प्रदेशका १४ जिल्लामध्ये मोरङमा सबै भन्दा धेरै र तेहृथुममा सबैभन्दा कम मतदाता छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता छन् । जिल्लामा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र छन् ।

सबैभन्दा कम मतदाता भएको तेहृथुममा ७१ हजार ९ सय ३३ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५६ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको छ ।

ताप्लेजुङमा कुल ८८ हजार २८५, पाँचथरमा १ लाख ३९ हजार ९३२, इलाममा २ लाख २४ हजार ८७७, झापामा ६ लाख ६३ हजार ३११, संखुवासभामा १ लाख १७ हजार ५५४, भोजपुरमा १ लाख २३३९७, धनकुटामा १ लाख १६ हजार ९९१, सुनसरीमा ५ लाख ४४ हजार ९४१, सोलुखुम्बुमा ८१ हजार ५०२, खोटाङमा १ लाख ४२ हजार ७९२, ओखलढुंगामा १ लाख १७ हजार ८९७ र उदयपुरमा २ लाख २८ हजार ९४६ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार