Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा २२ सय विरुवा रोपेर मनाइयो संविधान दिवस



विराटनगर । संविधान दिवसको सन्दर्भ पारेर विराटनगरस्थित कोशी राजमार्गको डिभाइर बीचमा २ हजार बढी विरुवा रोपिएको छ ।
महानगरपालिकाको मुख्य सडकको सौन्र्दयीकरण गर्ने उद्देश्यसहित कोशी राजमार्गको बरगाछीदेखि रानीस्थित विराटनगर आँखा अस्पतालसम्म सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गरिएको हो ।
संविधान दिवसको अवसर पारेर सो क्षेत्रमा २ हजार २ सय विरुवा रोपिएको हो । डिभाइडरको बीचमा चौपायाले नखाने, पात नझर्ने तथा कम पानीमा पनि सप्रिने विरुवाहरु रोपिएको छ । बरगाछी क्षेत्रको सुरुवात विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् ।
रानी क्षेत्रमा प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेतृत्व गरेका थिए । विभिन्न क्षेत्रमा विभाजित गरेर विरुवा रोपिएको थियो । वृक्षारोपण गरिएको विरुवाहरुलाई स्थानीय तथा सरोकारवालसँग सहकार्य गर्दै संरक्षण गरिने महानगरकी कार्यबाहक मेयर कार्कीले बताइन् । “विरुवा रोप्नुभन्दा संरक्षण गर्नु ठूलो कुरा हो,” कार्यबाहक मेयर कार्कीले भनिन्, “हामी छिट्टै सरोकारवालाको मिटिङ गरेर संरक्षणको खाका तयार पार्छौं ।”
प्रदेश वन मन्त्रालय र जिल्ला प्रशासनसँग सहकार्य गर्दै वृक्षारोपण गरिएको महानगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । डिभाइडरका बीचमा धुपी, कपुर, ओलेण्डर, टनेल र करबीर प्रजातिका विरुवा रोपिएको थियो । बरगाछीदेखि रानी आँखा अस्पतालसम्मको झण्डै ६ किलोमिटर सडक क्षेत्रलाई तीनवटा क्षेत्रमा विभाजन गरेर बेग्ला–बेग्लै निकायले वृक्षारोपण गरेका छन् । जसअन्तर्गत बरगाछीदेखि मुनालपथसम्म महानगरपालिकाले र त्यसभन्दा दक्षिण बसपार्कसम्म नेपाली सेनाको भैरव गणले वृक्षारोपण गरेको छ । यसैगरी त्यसबाहेकको क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले वृक्षारोपण गरेको थियो ।
डिभाइडरको बीचमा वृक्षारोपण गरी मुख्य सडकलाई हराभरा बनाउने प्रयासलाई स्थानीयले प्रशंसा गरेका छन् । कतिपय व्यक्तिहरु स्वयम् पनि आफ्नो साँध सिमाना अगाडिको डिभाइडरमा वृक्षारोपण गरिएको विरुवालाई संरक्षण गर्ने जिम्मा लिएका छन् ।
विराटनगर, मुनालपथका प्रदीपकुमार रौनियारले डिभाइडरको एक खण्डमा गरिएको वृक्षारोपणको संरक्षण आफूले गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विरुवाको संरक्षण र हेरचाह गर्नु सबै नगरवासीको दायित्व भएको धारणा राखे । “महानगरलाई सुन्दर बनाउने दायित्व यहाँ बसोबास गर्ने हरेक नागरिकको हो,” स्थानीयवासी रौनियारले भने, “हरेक कुरामा महानगरको मुख ताक्नु हुँदैन ।” वृद्धारोपणमा कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीलगायतको सहभागिता  थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार