विराटनगर : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।
मंगलबार पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकार चुनाव जित्न जस्तो सुकै हतकाण्ड मच्चाउन तयार रहेको बताएका छन् ।
अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र हुनुपर्ने बताए । उनले पाँच दलीय गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको आरोप लगाए । ‘निर्वाचन जित्नका लागि गठबन्धनका दलहरुले जस्तो सुकै हतकाण्ड मच्चाउन सक्छन्,’ उनले भने, ‘आगामी चुनाव मतपत्र च्यात्ने, चपाउने र धाँदली गर्ने योजना बनाएको छ । त्यतिमात्रै होइन गबन्धनले मान्छे कुट्ने, थुनाउने र बुथ कब्जा गर्ने काम गर्छ । सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
सरकारले सत्ताको चरम दुरुपयोग गरेको ओलीको आरोप छ । सरकार आफैँले राष्ट्रियतालाई खतरातिर धकेल्न खोजेको आरोप लगाउँदै ओलीले भने, ‘राष्ट्रियताको रक्षा, विकास र समृद्धिका लागि आगामी निर्वाचनमा एमालेले जित्नुपर्छ ।’
एमालेबाट फुटेर बनेको माधवकुमार नेपालको पार्टी राष्ट्रिय हैसियतमा पुग्न नसक्ने ओलीले बताएका छन् । माधव नेपालको पार्टीको कुनै विचार सिद्धान्त नभएका कारण पार्टीको अस्तित्व नै खतरामा भएको ओलीले बताए ।