विराटनगर : मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश १ ले चुनावको मुखैमा ९१ जना कर्मचारीको सरुवा गरेको छ । गठबन्धन सरकार आएपछि पटकपटक मापदण्ड तय नगरी कर्मचारी सरुवा भइरहेको छ ।
कर्मचारी स्रोतका अनुसार यसपटकको सरुवा सबै खालका कर्मचारीलाई मिलाएर आफ्ना केहीलाई भने राम्रो ठाउँमा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव इश्वर गिरीले सरुवा नियमित भएको बताए ।
स्रोतका अनुसार केही कर्मचारी भने जवर्जस्तरुपमा मिलाएर पठाइएको छ । प्रदेशमा ‘मालदार’ कार्यालय भनेर यातायात, वन तथा पूर्वाधार अन्तरगतका कार्यालयहरुलाई चिनिने गरेको छ । अहिलेका सरुवा पनि अधिकांश यस्तै कार्यालयका छन् ।
त्यस्तै प्रदेशका लेखाका कर्मचारी पनि केही सरुवा गरिएका छन् । आचारसंहिताको अघि नै सरुवा गर्ने ट्रेनलाई केन्द्रको नक्कल गरेर प्रदेशमा विकृति भित्र्याउन खोजिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।