Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धमाधम विराटनगरका उद्योगीहरु उम्मेदवारमा सिफारिस हुँदै


  • Purbeli Press
  • सोमबार, भाद्र २० २०७९

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीहरु धमाधम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि विभिन्न पार्टीबाट उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

यसपटकको निर्वाचनमा उम्मेदवारका लागि सबैभन्दा बढी नेपाली कांग्रेसबाट उम्मेदवारमा विराटनगरका व्यवसायीहरु सिफारिसमा परेका छन् ।

यसअघि संसद भइसकेका पवन सारडा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सिफारिस भएका छन् । कांग्रेसले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको हो । यसअघि तत्कालीन विजय गच्छदारको फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका सारडा यसपटक नेपाली कांग्रेसबाट सिफारिस भएका हुन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य भइसकेका उद्योगी अविनाश बोहोरा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ सिफारिस भएका छन् ।

विराटनगरमा २००७ सालको क्रान्ति ताकानै कांग्रेसको आन्दोलनमा बोहोरा परिवार लागेको थियो । विराटनगरका पुराना मारवाडी समुदायको व्यापारीक घरानाकारुपमा बोहोरा परिवारलाई हेरिन्छ । बोहोराको नेपालको विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा सहभागीता रहेको थियो । लोकतन्त्र र प्रजातन्त्रको लागि बोहोरा स्पष्ट रुपमा देखा पर्ने व्यवसायी हुन् ।

विराटनगरका अर्का प्रतिष्ठित उद्योेगी महेश जाजु पनि मोरङ क्षेत्र नम्बर ६ बाट संघीय संसदमा समानुपातिकतर्फ सिफारिस भएका छन् । जाजुलाई कांग्रेसले अघिल्लो पटक नै संसद बनाउन चाहेको थियो । विराटनगरमा सफल उद्योगीको रुपमा चिनिएका जाजु विभिन्न सामाजिक गतिविधिमा पनि संलग्न छन् । उनले मोरङ व्यापार संघको नेतृत्वसमेत गरिसकेका छन् ।

त्यस्तै कांग्रेसले विराटनगरका अर्का व्यवसायी रविन दाहाललाई क्षेत्र नम्बर ६ (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको छ । मोरङ व्यापार संघ, प्रदेश उद्योग वाणिज्य संघ लगायतका संस्थामा रहेर काम गरेका दाहाल पछिल्लो समय शिक्षासेवीका रुपमा चिनिन्छन् । उनको विराटनगर ११ मा देशकै नाम चलेको बाल कल्याण विद्या मन्दिर विद्यालयसमेत छ ।

विराटनगरमा पछिल्लो समयमा सामाजिक क्षेत्र र व्यवसायीक क्षेत्रमा उत्कृष्टता हासिल गरेका अरुण राठीलाई नेकपा एमालेले प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको छ । उनलाई मोरङ क्षेत्र नम्बर ६ (ख) बाट समानुपातिकमा सिफारिस गरिएको हो ।

कोरोना महामारी लगायत विभिन्न विपद्मा महत्वपूर्ण भूमिका खेलेका राठीको शैक्षिक क्षेत्रमा समेत लगानी छ । उनले राठी स्वीच लगायतका उत्कृष्ट उद्योगहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार