फाइल फोटो
विराटनगर : सरकारले आगामी मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनले भागबन्डा गर्न कार्यदल बनाएर काम थालेको छ ।
गठबन्धनमा रहेका दल र नेतालाई भने कसरी भागबन्डा मिलाउलान् भन्ने चासो बढ्दै गएको छ । दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा भागबन्डाका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।
यसै सन्दर्भमा माओवादीका युवा नेता प्रवेश खड्काले उदयपुर क्षेत्र नम्बर २ माओवादीको भागमा पर्ने दावी गरेका छन् । उदयपुर २ को प्रतिनिधिसभामा माओवादीले निर्विकल्प टिकट पाउने उनले बताए ।
‘२ नम्बर क्षेत्रमा माओवादी सांगठानिक हिसावले बलियो छ, गत स्थानीय तहको निर्वाचनमा ५ पालिकामध्ये ३ पालिका पनि माओवादीले नै जितेको छ,’ खड्काले भने, ‘२०७४ के निर्वाचनमा पनि यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेश (क) माओवादीले नै जितेको क्षेत्र भएकाले उक्त क्षेत्र माओवादीले नै पाउने पक्का छ ।’
त्रियुगा नगरपालिकाको नगरसभा सदस्यसमेत रहेका खड्काले माओवादी उम्मेदवार भए मात्र चुनाव जित्न सहज हुने बताए । को उम्मेदवार बन्छ ? भन्ने कुरामा छलफल पछि होला तर गठबन्धन हुँदा माओवादीको भागमा पर्ने पक्का छ, उनले भने, उदयपुर जिल्ला ईन्चार्ज भएको हिसाबले र ५ वर्ष संघीय ससंदको हैसियतमा जनताको विकास निर्माणमा चासो र पारदर्शीता देखाउँदै आएका कारण सुरेश राई नै उम्मेदवार हुने सम्भावना छ ।’
खड्काले सामाजिक संजालमा उदयपुर २ मा माओवादीलाई कमजोर जस्तो देखाएर भ्रम फैलाउने र कमजोर धरातल भएकालाई टिकट दिन खोजिएको आरोपसमेत लगाए ।