प्रदेश १ का पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री राजेन्द्र राईले नामकरणको विषयलाई लिएर हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री अधिकारीले यस्तो आरोप लगाएका हुन् ।
उनले मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न समेत माग गरे । सांसद अधिकारीले मुख्यमन्त्री राईले जातीय पहिचानका आधारमा प्रदेश नामकरण नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको अभिव्यक्ति दिने गरेको बताए ।
यस्तै एमालेकी सांसद बिनादेवी राईले सरकारसँग नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेकी छन् ।
उनले पाँच दलीय गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्र राईले नामकरणको प्रस्ताव प्रदेश सभा टेबुल नगरि जनता भड्काउँदै हिँडेको आरोप लगाइन् । ‘यो सरकार विपक्षमा हुँदा नाम राख्न किन ढिलो भनिरहन्थ्यो, दबाब दिई रहन्थ्यो । आज आफै सरकारमा हुनुहुन्छ । सरकार के गरेर बसिरहेको छ ?’ उनले भनिन्,‘सरकारको मुख्यमन्त्री जनतालाई उचाल्ने काम गरिरहनुभएको छ । किराँत बनाउँछु, छिटै नामकरण गर्छु भरिरहनुभएको छ । तर, प्रस्ताव टेबुल गर्नुहुन्न ।’
उनले प्रदेशसभामा सरकारले नामकरणको प्रस्ताव ल्याउने प्रावधान रहे पनि मुख्यमन्त्री राईले प्रस्तावनै नल्याई जनता भड्काउने काममा उत्रिएको बताइन् ।
‘जनता सडकमा आन्दोलित अवस्थामा छन् । तर सरकारको मुख्यमन्त्रीले नामकरणको विषयमा संसदमा किन टेबुल नगरेको हो रु’ उनले भनिन्,‘सरकार आफै हिंसा भड्काउने कार्यमा उद्दत छ । प्रदेशका जनताको भावना अनुसार तत्काल नामकरण गरियोस् भन्ने माग गर्न चाहन्छु ।’