विराटनगर : विराटनगर महानगरपालिकाले करारमा नियुक्त भएका तीन सय १६ कर्मचारीको म्याद चार महिनाको लागि थप गरेको छ ।
अहिलेका मेयर निर्वाचित भएर आउनु अघि नै नियुक्त भएका कर्मचारीलाई म्याद थप नगर्न अहिलेका मेयर नागेश कोइरालालाई चर्को दवाब भए पनि उनले चार महिनाका लागि म्याद थप गरेका छन् ।
अघिल्लो कार्याकालमा कर्मचारीको विस्तृत सर्भे नगरी जथाभावी कर्मचारी नियुक्त गरिएकाले हटाउनुपर्ने माग थियो । गत आइतबारको कार्यापालिका बैठक बस्नु अघि वडा अध्यक्षहरुलाई करार कर्मचारीको विषयमा एजेण्डासमेत दिएर बैठक बोलाइए पनि बैठकको दिन भने एजेण्डा नराखिएको वडा नम्बर ३ का अध्यक्ष बासु बसनेतले बताए ।
आइतबारको बैठकमा कार्यापालिकाका धेरै सदस्यले करार कर्मचारीको नवीकरण नगरी पारदर्शी ढंगले नयाँ कर्मचारी नियुक्ति गर्नुपर्ने माग गरेका थिए । बैठकमा २० भन्दा बढी कार्यापालिका सदस्यको राय कर्मचारी हटाउनुपर्नेमा थियो । कार्यापालिका सदस्यले असहमति गर्दागर्दैका बीच पनि एजेण्डा नराखेर करार कर्मचारीको म्याद थप गरिएको हो ।
मेयरले यो विषयमा चर्को दबाव भएकाले हेरिदिन कार्यापालिका सदस्यहरुलाई आग्रह गरेका थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले अहिले चार महिनाका लागि थप गरिएको र त्यसपछि के गर्ने भन्ने विषयमा कार्यापालिका बैठकले निर्णय गर्ने जानकारी दिए । पछिल्लो समय अन्य नगरपालिकामा करारका कर्मचारी हटाउने अभियाननै चलेको छ ।