विराटनगर : नेकपा एमालेको १ नम्बर प्रदेश कमिटिको बैठक तीन तहमा सम्पन्न भएको छ । आइतबार कार्यालयको बैठक, सोमबार सचिवालयको र मंगलबार प्रशिक्षणसहितको विस्तारित बैठक भएको छ ।
कार्यालय बैठकमा थोरै संख्यामा चुनावी समिक्षा भए पनि सचिवालय बैठकमा ब्यापकरुपमा समिक्षा भएन । निर्वाचन सकिने बित्तिकै उम्मेदवारी चयनदेखि अन्तरघातसम्मको विषय सामाजिक सञ्जाल र मिडियामा आएपनि ती विषयहरुमा छलफल भएपनि अहिलेलाई कसैलाई पनि कारबाही नगर्ने नीति पार्टीले लिएको एक जना स्थायी समिति सदस्यले बताए ।
तर दोस्रो दिनको बैठकमा भने एमालेका पुराना नेता एंव प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुवोध प्याकुरेलले बोलेको विषयवस्तुले चर्चा पाएको छ । दोस्रो दिनको सचिवालय बैठकमा नेताहरुको भाषण पट्यार लाग्दो र दमदार नभएपछि खुल्ला सेसनमा करिब २० मिनेट जति प्याकुरेलले नेताहरुलाई आफूहरुले काम गर्नु भो? कस्तो सुधार गर्नुभयो ? भन्दै आक्रोसित शैलिमा प्रश्न गरेका थिए । उनले नेताहरुको बकमफुसे भाषणभन्दा भिजन र सही दृष्टिकोण चाहिएको बताउँदै अब नेताहरुको भाषणले मात्र नहुने बताएका थिए । उनले धारा प्रवाह बुरुक्क गरेर भाषण गरेपछि मञ्चदेखि तल बसेका प्रदेश कमिटिका सदस्यले उनको कुरा चाख मानेर सुनेक थिए ।
उनले प्रदेश कमिटि हुने र उनीहरुको कुनै औचित्य नहुने र निर्णयहरु प्नि थाहा नहुने हो भने कमिटिमा बस्नुको औचित्य नहुने भनेर प्रश्न गरेको सहभागीले बताए । सचिवालय बैठकमा करिब २० जना जति सदस्यले बोलेका थिए ।
नेकपा एमालेको प्रदेश कमिटि करिब सात सयको छ । नेकपा एमालेका प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपानेले बैठक ५ सय ५० जनाको उपस्थितिमा भव्यरुपमा सम्पन्न भएकोे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।