विराटनगर : जिल्ला कारागार मोरङका ५४ जना कैदीबन्दीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । शनिबार कोरोना परीक्षण गरिएका ४८ मध्ये ३५ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो । कारागारका ५४ जनामा कोरोना देखिएपछि कारागारमा रहेका ६ सय २० जनालाई कोभिड संक्रमण विरुद्धको कोभिडशिल्ड खोप लगाइएको छ ।
कैदीबन्दीलाई अत्याधिक ज्वरो र स्वास फेर्न गारो हुने समस्या देखिएपछि गत शुक्रबार उपचारका लागि कोसी अस्पताल लगिएका १९ जना कैदीबन्दी मध्ये १६ जनाको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । शनिबार ४८ जनाको स्वाब परीक्षण गरेकोमा ३६ को रिपोर्ट पोजेटिभ आएको मोरङ कारागारका निमित्त जेलर निमित्त जेलर तुलसीराम भगतले बताए ।
ज्वरो आएपछि कोशी अस्पतालमा भर्ना गरिएका मोरङ कारागारका कैदी ३९ वर्षीय नीरबहादुर नेपालको बिहीबार अपरान्ह मृत्यु भएको थियो ।
अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह
मोरङमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेपछि प्रशासनले कडाइ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर बढ्न थालेपछि संक्रमण रोकथामका लागि सबै क्षेत्रमा मास्क अनिवार्य गर्ने निर्णय गरी सबैलाई सार्वजनिक आव्हान गर्ने तयारी गरिएको छ ।
कोरोना विरुद्ध खोप लगाएपछि केही समययता संक्रमण न्यून थियो । संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउन पनि छोड्दै गएका थिए । पछिल्लो समय मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएपछि बसेको आकस्मिक बैठकले मास्क अनिवार्य गर्ने निर्णय गरेको हो ।
बन्द रहेका कोभिड अस्पताल सञ्चालनमा
कोरोना संक्रमण कम हुँदै गएपछि बन्द रहेको कोशी कोभिड अस्पताल पुनः संचालनमा ल्याइएको छ । कारागारका कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल पुनः संचालनमा ल्याइएको हो ।
गत चैत १५ गतेदेखि बन्द भएको कोभिड अस्पताल तीन महिनापछि पुनः संचालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
बिहीबारबाट संक्रमित भर्ना हुन थालेपछि ओपीडी सेवा जारी रहेको कोशी कोभिड अस्पतालका निमित्त प्रमुख अनुपम राजवंशीले बताए । संक्रमण बढ्दै गएर आइसोलनको आवश्यकता हुन थालेपछि साढे तीन महिनापछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको राजवंशीले बताए ।
बढ्दै बिरामीको चाप
पछिल्लो समय अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षणसहितका बिरामी बढ्न थालेका छन् ।
अत्यधिक तापक्रममा तातो बाफजस्तो हावा दिनभर चल्ने भएकाले ज्वरो आउने, रुघा खोकी लाग्ने, घाँटी खसखस हुने गरेको लक्षण भएको बिरामी आउने गरेको कोशी अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले गर्मीयाममा दिउँसो जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चस्मा प्रयोग गर्न सुझाव दिएका छन्।