file photo
विराटनगर : दुर्घटनामा परी घाइते भएका वृद्ध पुरुषको साढे चार महिनापछि मृत्यु भएपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरेका छन् ।
दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ७७ वर्षीय प्रेमबहादुर खड्काको बुधबार मृत्य भएपछि परिवारका सदस्यले प्रहरी कार्यालयको गेटमा शव राखेर प्रदर्शन गरेका हुन् ।
गत फागुन ५ गते उर्लाबारी ८ मा बा ६० प २११ र को १६ प ६४०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । त्यही दुर्घटनामा परेर को १६ प ६४०८ नम्बरको मोटरसाइकलको पछाडि सवार रतुवामाईका खड्का घाइते भएका थिए ।
घाइते खड्काको विराटनगरस्थित कोसी अस्पतालमा लामो समयसम्म उपचार गराइयो । अस्पतालले डिस्चार्ज दिएपछि उनलाई दुई साताअघि घर लगेर राखिएको थियो । बुधबार उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते वृद्धको मृत्यु भएपछि फरार बनेका मोटरसाइकलका चालक उर्लाबारी–९ का कृष्ण वाईबालाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै परिवारका सदस्य र आफन्तले बुधबार दिउँसो प्रदर्शन गरेका हुन् ।
कम्तीमा दुई साताभित्र चालकलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने सहमति भएपछि परिवारका सदस्य अन्त्येष्टिका लागि शव लेगेका हुन् । परिवारका सदस्यले शव राखिएको गाडी प्रहरी कार्यालयको गेटमा लगेर राखेपछि मृतक पक्ष र प्रहरीबीच छलफल भएको थियो ।
दुर्घटना गराउने चालकलाई जतिसक्दो चाँडो पक्राउ गर्ने सहमति भएपछि परिवारका सदस्यले शव लिएर गएको प्रहरलिे बताएको छ । दुवै मोटरसाइकल भने इलाका प्रहरी कार्यालय उर्लाबारीमै राखिएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।