विराटनगर : विराटनगर महानगरपालिकाले गरिब तथा विपन्नलाई विद्युतमा छुट दिने नीति ल्याएन । शुक्रबार घोषणा गरिएको नीति तथा कार्यक्रममा विद्युत छुटले प्रवेश पाएन ।
नेपाली काँग्रेसबाट विराटनगर महानगरमा निर्वाचित मेयर नागेश कोइरालाले चुनावताका गरिवलाई निःशुल्क २० युनिट बिजुली दिने घोषणा गरेका थिए । उनले संचारमाध्यम साथै गाउँबस्तीमा जाँदा विद्युत छुट दिने विषय प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।
तर, यो कार्यक्रम नीति तथा कार्यक्रममा अहिले परेन । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्की र मेयर कोइरलासमेतको प्राथामिकतामा परेको करका विषय र आम्दानी बढाउने कुरा नीति तथा कार्यक्रममा समावेश भएको छैन् । यसपालिको बजेटमा यी दुवै दलबाट उम्मेदवार बनेकाहरूले चुनावी एजेण्डा अनुसारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेनन् ।
यसैबिच विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०७९÷८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रूपैयाँ बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाकी उपप्रमुख निराला कार्कीले शुक्रबार नगर सभाको दर्शौ अधिवेशनबाट आगमी आर्थिक वर्षको चालु तथा पुँजीगततर्फको बजेट सार्वजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षको लागि ४ अर्ब ६३ करोड २ लाख ८१ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा महानगरपालिकाले आगमी आर्थिक वर्षको लागि १ अर्ब ४ करोड ७१ लाख ४ हजार ५ सय रूपैयाँ कम बजेट ल्याएको हो ।
महानगरपालिकाको आगामी आवका लागि व्यतर्फ कूल बजेटमध्ये प्रशासनिक क्षेत्रतर्फमा ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख, सामाजिक विकास क्षेत्रतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातवरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ ३ करोड ६० लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ ।
यसैगरि आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाको लागि ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजना लागि २९ करोड, क्रमागथत योजनाको भुक्तानीका लागि ४० करोड, आरयूडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरि ममर्तसम्भारका लागि १४ करोड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्य्रको लागि २ करोड ५० लाख, समपुरक कोष ४ करोड ८० लाख विनायोजन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिइन् ।