विराटनगर : उदयपुरको जिल्ला समन्वयन समितिको निर्वाचनमा तीन दलिय गठबन्धनको प्यानलनै विजयी भएको छ ।
प्रमुखमा एकिकृत समाजवादीका गौर बहादुर विश्वकर्मा विजयी भएका छन् । उप प्रमुखमा नेपाली कांग्रेसका तेस प्रसाद गीरी विजयी भएका छन् ।
गठबन्धनमा खुल्ला सदस्यमा काँग्रेसबाट भिमचन्द्र राई र विष्णु कटुवाल, महिला सदस्यमा मन्जु कुमारी परियार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रबाट खुल्ला सदस्यमा इन्द्र बहादुर थापा, महिला सदस्यमा गोमा कार्की र विन्दा कुमारी विश्वकर्मा र दलित तथा अल्पसंख्यक सदस्यमा पद कुमारी राई विजयी भएको मगरले जानकारी दिए । विजयी सवै उम्मेदबारहरुले सम्मान ११–११ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेको तर्फबाट प्रमुखमा इन्द्र राज कार्की र उपप्रमुखमा हेम कुमारी विश्वकर्मा सहित ६ जना सदस्य पदमा उम्मेदबारी दिएका थिए । उनीहरुले ५–५ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समितिको लागि काँग्रेसको ७ मत, नेकपा एमालेको ५ मत, माओवादीको ३ मत र नेकपा एसको एक मत रहेको थियो ।