विराटनगर : प्रदेश सरकार स्थापना भएपछि प्रदेश १ मा नयाँ अवधारणासहित तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सुरु गरेको ‘म अघि बढ्छु’ कार्यक्रम हटाइएको छ ।
प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको बजेट मार्फत सो कार्यक्रमलाई हटाइएको हो । यो कार्यक्रम अन्तर्गत प्रदेशका दुई लाखभन्दा बढी बालबालिकालाई विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गर्दै सगरमाथा टिन्स क्लबको नाममा समेटिएको थियो । विद्यालय तहसम्म पुगेको यो कार्यक्रमको आलोचना पनि हुँदै आएको थियो ।
संसदमा सबैभन्दा बढी आलोचना गर्नेमा अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की थिए । उनी मन्त्री भएपछि यो कार्यक्रम सञ्चालन गर्न आफ्ना कार्यकर्तालाई भर्ना गरेका थिए । यो कार्यक्रममा विभिन्न तहमा नियुक्ति पाउनेले तलबसमेत पाउने गरेका छन् । विगत वर्षमा यो कार्यक्रममा १० करोडभन्दा बढी खर्च भएको छ । अहिले प्रस्तुत भएको बजेटमा भने यो कार्यक्रमको नाम परिवर्तन गरी ‘हामी स्वंयसेवी अभियान’ राख्ने व्यवस्था गरिएको छ ।
कार्की मन्त्री भएर आउने बित्तिकै ‘म अघि बढ्छु’ कार्यक्रमको नाम परिवर्तन गरेर स्वंयसेवी कार्यक्रम राख्न खोजेका थिए । तर सम्भव नभएपछि आंशिक रुपमा त्यही कार्यक्रमलाई अगाडि बढाए । बजेटमा हामी स्वंयसेवी, मानवअधिकार र कानुनी सहायता भनेर १० करोड ७ लाख छुट्याइएको छ ।
कतिपयले यो कार्यक्रम आन्तरिक मामिलाको कार्यक्षेत्रभित्र नपर्ने र बजेट अनावश्यक खर्च हुने कार्यक्रमको रुपमा आलोचना गर्दै आएका छन् ।