विराटनगर : जिल्ला समन्वय समिति मोरङको मंगलबार भएको निर्वाचनमा गठबन्धनका मेयर उपमेयरले नै क्रस मतदान गरेका छन् ।
नेकपा एमालेको २१ मत र गठबन्धनको १३ मत भएको मोरङमा सदस्यहरुको मत तलमाथि भए पछि मत क्रस भएको हो । एमालेका उम्मेदवारले २१ र गठबन्धनका उम्मेदवारले १३ मत ल्याउनुपर्नेमा एमालेबाट विजयी बनेका तीन जना सदस्यले आफ्नो मतभन्दा बढी ल्याएका छन् ।
निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेकी दलित महिला सदस्य उमा नेपालीले २३ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धि गठबन्धनकी गिता विश्वकर्माले ११ मत मात्र ल्याएकी छिन् । यहाँ गठबन्धनका दुई जनाले मत क्रस गरेका छन् । त्यस्तै सदस्यमा एमालेका तुलसी प्रसाद घिमिरे र मित्रप्रसाद ढकालले २२/२२ मत ल्याएका छन् ।
जिल्ला समन्वय समितिको सम्पूर्ण पदमा एमाले विजयी भएको छ ।
यसअघि मोरङको बुढिगंगा, विराटनगर लगायतको पालिकामा पनि कांग्रेसबाट कार्यापालिका निर्वाचनमा अन्तरघात भएको थियो । मोरङमा कार्यापालिकाको निर्वाचनमा नेपाली कांग्रेसको देउवा प्यानल र कोइराला प्यानलबीच असन्तुष्टि भएकाले चुनावमा अन्तरघात भएको हो ।