Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको एभरेष्ट र काठमाडौको रातो बंगलाले सीप र प्रविधिमा सहकार्य गर्ने



विराटनगर । विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र काठमाडौंको रातो बंगला फाउण्डेसनबिच प्रविधि र सीप विकासमा सहकार्य गर्ने सम्झौता भएको छ ।
आगामी तीन वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदानप्रदान गर्न रातो बंगला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्राचार्य टिकाराम पुरीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा समेत अध्यापन गराउँदै आएको एभरेष्ट स्कुलले यस वर्षदेखि आफैं पाठ्यक्रम बनाएर नैतिक शिक्षाको समेत व्यवहारिक अभ्यास गराउन थालेको छ । प्रविधिको युगमा अध्ययन गर्ने हरेक विद्यार्थी प्रविधिमैत्री हुनुपर्छ भन्ने मान्यता स्थापित गराउन लागेको एभरेष्टले सोहि अनुसारको भौतिक संरचना निर्माणदेखि लिएर शिक्षकहरुलाई समेत प्रविधिमैत्री बनाएको छ । हरेक कक्षाकोठामा प्रोजेक्टर र स्मार्ट बोर्डलगायतका प्रविधिको प्रयोग गर्दै अध्यापन गराउने यस विद्यालयका हरेक शिक्षकले ल्यापटपको प्रयोग गरेर अध्यापन गराउनुपर्छ । विद्यार्थीले सैद्धान्तिक रुपमा किताबी ज्ञान मात्र पाएर हुँदैन भन्ने मान्यता राख्ने प्राचार्य पुरीले भन्नुभयो,‘ त्यो सँगै चरित्रवान, सीपयुक्त पनि हुन आवश्यक छ ।’ प्रविधिले विश्व एउटा गाउँको रुपमा विकास भइरहेको सन्दर्भमा हाम्रा विद्यार्थीहरु युग सुहाउँदो हुन आवश्यक छ भन्दै प्राचार्य पुरीले त्यसका निम्ति हामीले नविन प्रविधिको उच्चतम प्रयोग र सीपमूलक शिक्षामा जोड दिइरहेका छौं । यसकै लागि रातो बंगलासँगको सम्झौता गरिएको भन्दै उहाँले अब एभरेष्टलाई तीन वर्षसम्म रातो बंगला फाउण्डेसनले प्रविधि र सीप विकासमा सहजिकरण गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार